४ पुष २०७८, आईतवार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

आइतबार भएको लिगको एक मात्र खेलमा शेर्पाले ब्रिगेडलाई ३–१ गोल अन्तरले हराएको हो । ब्रिगेडलाई हराउँदै शेर्पाले जारी लिगमा पहिलो जित दर्ता गरेको छ ।

खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेर्पाले खेलमा अग्रता बनाएको थियो । तर भुवन बस्नेत ५३ औं मिनेटमा ब्रिगेडका लागि बराबरी गोल फर्काएका थिए ।

शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । इन्जुरी समयको चौथो मिनेटमा मनिष थापाले गोल गर्दै शेर्पालाई फराकिलो जित दिलाए ।

जित सहित शेर्पाले ५ खेलबाट ५ अंक जोडेको छ । जित सहित शेर्पा तालिकाको नवौं स्थानमा उक्लिएको छ । ब्रिगेड गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । ब्रिगेडको समेत समान ५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV