४ पुष २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । मुलुकलाई कृषि प्रधान देश भनेर चिनिएता पनि सँधै किसानहरु भने मलको अभावबाट गुज्रिरहेका छन् । सरकारले आवश्यक मल उपलब्ध गराउन नसक्दा कृषकहरुले वर्षेनी मलको अभावबाट गुज्रिनुपरेको हो ।

अहिले गहुँ छर्ने बेला चाहिने डीएपी मल नपाएको कारण किसानहरु मलको लागि भौतारिरहेका छन् । डीएपी मल नपाएकै कारण हालसम्म कतिपय कृषकहरु गहुँ छर्न पाएका छैनन् । हालसम्म पर्सामा ५० प्रतिशत कृषकले मात्रै गहुँ छरेका छन् ।

बाँकी ५० प्रतिशत किसानहरु भने मलको लागि भौतारिरहेका छन् । सरकारले कृषकहरुको लागि अनुदानमा उपलब्ध गराएको डीएपी एवं युरिया मल कृषक समक्ष पुग्न नसकेको कारण वर्षेनी कृषकहरुले मलको समस्या झेल्नु परेको कृषकहरुको गुनासो छ ।

एक बोरा मलको लागि दैनिक कृषि सामग्री कम्पनी धाइरहँदा पनि मल नपाएका कारण कृषकहरु निराश भएर रित्तै हात फर्किनुपर्ने अवस्था छ । सामग्री कम्पनीमा आउने मल वितरण पनि नगरिएको होइन, तर माग अनुसार मल आयात हुन नसक्दा १० प्रतिशत किसानहरुले पनि मल पाउन सकेका छैनन् ।

किसानहरुले मल नपाउँदा गहुँ छर्न समस्या भएको गुनासो गरिरहेका छन् । छठ पर्व सकिने वित्तिकै गहुँ छर्नु पर्ने भएतापनि मल अभावकै कारण हालसम्म पनि गहुँ छर्न नसकेको उनीहरुको गुनासो छ । उनीहरुका अनुसार कृषि सामग्री कम्पनीबाट मल लैजाने कृषक सहकारी सँस्थाहरुले आफ्नो आसेपासेलाई मात्रै वितरण गर्ने गरेको तथा कालोबजारी गर्ने गरेको कारण आफूहरुले १ बोरा पनि मल पाउन नसकेको गुनासो पोखे ।

सरकारको नियम अनुसार कृषि सामग्री कम्पनीबाट डिलर लिएका कृषक समूहहरुले मात्रै मल लैजान पाउने प्रावधान छ तर, ति समूहमा भएका कृषकहरु बाहेक अन्य कृषकहरुले मल नपाउने गरेको उनीहरुको गुनासो छ । सहकारी संस्थाहरुले ५ देखि १० केजी मात्रै मल दिने गरेको कारण बढी खेत भएका कृषकहरुलाई समस्या भएको छ ।

२ विगहा खेत भएका कृषकहरुहरुले आफूले १ बोरा मात्रै मल पाएपनि समस्याको समाधान हुने बताउदै आएका छन् । कृषकहरुलाई सहज तरिकाले मल उपलब्ध गराउन जिल्लाको प्रत्येक पालिकाको प्रत्येक वडामा २ देखि ४ वटा डिलरहरु छन् ।

तर, डिलहरुले किसानहरु भन्दा पनि आफ्ना आसेपासेलाई वितरण गर्नु एवं कालोबजारी गर्ने गरेको कारण मल आवश्यक पर्ने समयमा सधैं किसानहरुले मलको अभाव खेप्नु परिरहेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेका किसानहरुले केही हदसम्म भारतबाट मल ल्याएर आफ्नो खेती गर्ने गरेका थिए ।

तर, यो वर्ष मल आयातमा कडाई गरिएको कारण त्यहाँबाट पनि मल ल्याउन सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । विगत दुई महिनाको अवधिमा पर्सा जिल्लामा युरिया २ हजार मेट्रिक टन तथा डीएपी २ हजार मेट्रिक टन विक्री वितरण गरिएको बताइएको छ । तर, माग अनुसार मल आयात हुन नसकेको कारण कृषकहरुले मल अभावको समस्या झेल्नु परेको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका क्षेत्रीय प्रवन्धक निर्देशक गोरखनाथ केसीले बताए ।

उनका अनुसार सो कार्यालयमा ९ हजार मेट्रिक टन डीएपी आएकोमध्ये ६ हजार मेट्रिक टन पर्सा जिल्ला बाहिर पठाइएको छ, भने २ हजार टन पर्सा जिल्लामा विक्री वितरण गरिएको छ । यसैगरि ९ हजार ५ सय मेट्रिक टन युरिया आउने क्रममा रहेको बताइएको छ ।

माग अनुसार नेपाल रकारले ७ लाख मेट्रिक टन मल आयात गर्नुपर्ने हो तर २÷३ लाख मेट्रिक टन मात्रै मल आयात गर्ने गरेको कारण वर्षेनी मल अभावको समस्या हुने गरेको बताइएको छ । मल चाहिने बेलामा यहाँ दैनिक ३ देखि ४ सय किसानहरु १ बोरा मलको लागि आउने गरेका छन् तर यहाँबाट विक्री वितरण गर्न नपाउने भएको कारण किसानहरुलाई बाध्य भएर रित्तै हात फर्काउनु परेको छ ।

यता कृषि ज्ञान केन्द्र पर्साका अधिकृत श्यामबाबु प्रसादले यस वर्ष गहुँ उत्पादनमा कमी आउने अनुमान गरिएको बताए । गहुँ बाली लगाउने बेलामा रसायनिक मलको अभावको कारण कृषकहरुले हालसम्म गहुँ बाली नलगाएको र लगाएको किसानहरुले पनि मल छर्कन नपाएको कारण गहुँबाली उत्पादनमा कमी आउने अनुमान गरिएको उनको भनाइ छ ।

पर्सा जिल्लाभरीमा गत वर्ष ४७ हजार ५० हेक्टरमा धान खेती गरिएकोमा यसवर्ष ४७ हजार ३० हेक्टर धानखेती भएको थियो । त्यसैगरि गत वर्षमा २ लाख २८ हजार ५ सय ६० मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष २ लाख ३३ हजार १ सय ३५ मेट्रिक टन उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV