३ पुष २०७८, शनिबार
  • बाबु त्रिपाठी

समयलाई काखी च्यापेर
निरन्तर बगिरहेछन् नदीहरू ।
किनारा साक्षी छ
मान्छेको अन्त्य मृत्युजस्तै
नदीको पनि आफ्नै अन्त्य होला
तर, कहाँ गएर
थकाइ मार्छन् होला नदीहरू ?
खै देश बोक्ने भरियाको जस्तो !
चौतारो छ कि छैन नदीहरूको ?
नदीको जात छ कि छैन ?
नदीको धर्म छ कि छैन ?
थाहा छैन
तर,
अधर्मी छैनन् नदीहरू ।
ठूला नदीहरू–
साना नदीलाई अंकमाल गर्छन्
बोकेर जीवनका तानाहरू
पोखेर मनका बहहरू
किनाराका बस्तीसँग
–ढुंगासँग
–माटोसँग
साउती मार्दै
गाउँछन् नदीहरू
आफ्नै जीवनको गीत
यात्रामा सुखदुःख बाँड्दै
मिसिन्छन् समुद्रमा
नदीको सङ्लो मन
साँच्चै,
मन भनेको नदीजस्तै गहिरो हुनुपर्दछ ।
तर, दुःखको बेलामा
आँसुजस्तै जीवन बोकेर
उर्लन्छन् नदीहरू
तर, प्रीत लाउँछन्
–खोलासँग–खहरेसँग
फेरि गर्छन् यात्राहरू
फेरि मिसिन्छन् समुद्रमा ।
म बूढो माझीको कथा सुनिरहेको छु
नदीको भूत, वर्तमान र भविष्य छैन
गन्तव्यहीन मान्छेजस्तै
गन्तव्यविहीन छैनन् नदीहरू ।
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV