२ पुष २०७८, शुक्रबार
  •  तीर्थ श्रेष्ठ

सायद यतै कतै थियो
टेथिस सागर
म त्यसैको कोखबाट जन्मिएँ
कोख किंवदन्ती बन्यो
म अझै छु जीवन्त
तर छु हुँडारहरुबीचको सिकार जस्तो

लाखौं वर्ष
खोँचहरु काटेर
तिम्रा अहमका पहाडहरु ताछेर
म बगिरहेछु
कहीँ गर्जन गर्जन
कहीँ शान्त सुललित प्रवाह
म बगिरहेछु
मैले आफै बनाएको हुँ
मेरा किनारहरु
विशाल-विशाल फाँटहरु
हजारौं वर्ष ननिदाएर
परिश्रमको गीत गाएर
बगाउँदै हिँडेको हुँ
शालिग्राम र शिलाहरु
साधनाको उत्कर्षमा पुगेकाहरुको
पाउ धोएको पनि हो
तिनका अनन्त तिर्खा मेटेको पनि हो

म कालीगण्डकी
कालको सीमा अतिक्रमण गरेर बगेको छु
तिमी महाकालको मखुन्डो लगाएर मेरो सीमा अतिक्रमण गर्दैछौ
दुर्भाग्यलाई योभन्दा अर्को आमन्त्रण के हुन सक्छ ?
म रहनेछु
बगिरहनेछु
बलात्कृत मेरो किनारको छातीमाथि पाशविक तिम्रा पदचिह्नहरु हेर्दै
ममाथि थोपरिएका तिम्रा विकारहरु मेरो छातीमाथि झेल्दै
भन तिमीले गर्व गरेको
तिम्रो सभ्यता के म जस्तै लयबद्ध ढंगले बाँचिरहनेछ ?
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV