२८ मंसिर २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । जाडोयामको शुरुवातसँगै झापाको विभिन्न चोक तथा गल्लीहरुमा भक्का पकाएर विक्री गर्ने महिलाहरुलाई भ्याइ–नभ्याइ हुने गरेको छ । विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजाको रुपमा रहेको भक्का पछिल्लो समय पहाडी तथा अन्य समुदायले पनि खाने गरेका छन् ।

भक्काप्रति सबै समुदायका मानिसहरु आकर्षित हुन थालेसँगै अहिले झापाका थुप्रै महिलाहरु भक्का बेचेर राम्रो आम्दानी गर्नुका साथै आफ्नो परिवारको गुजरा समेत चलाउन सफल भइरहेका छन् ।

भक्का नरम हुने हुनाले बच्चा वृद्ध एवम् युवा सबै वर्गमा लोकप्रिय छ । भक्कालाई मनपर्दो स्वाद अनुसार गुलियो वा नुनिलो पारी खाजाको रुपमा खान सकिन्छ । जाडोमा तातो–तातो भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् ।

जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । भक्का खाँदा पेट भरिने र स्वादिलो पनि हुनेहुँदा ग्राहक आकर्षित हुने गरेको फुलश्वरी राजवंशी बताउछन् । विगत ४० वर्षदेखि झापाको इटाभट्टा चोकमा भक्का पकाएर बेच्दै आएकी ७० वर्षीया फुलश्वरी राजवंशीले भक्का बेचेर नै आफ्ना परिवारको गुजरा चलाउदै आएको बताइन् ।

बाह्रै महिना भक्का बेचेर राजवंशीले श्रीमानसहित ८ जनाको परिवारको गुजारा चलाउदै आएको बताइन् । प्रतिगोटा १० रुपैयाँका दरले बिहान र दिउसो गरेर दुई सिफ्टमा भक्का बेच्ने गरेकी उनको दैनिक बाह्रदेखि पन्द्र सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । जसमा खर्च कटाएर पाँच देखि सात सय रुपैयाँ बचत हुने गर्दछ ।

त्यस्तै विगत दश वर्ष अघिदेखि जाडो महिनाको विहान सडक छेउमा भक्का पकाउदै आएकी बसन्ती चौधरी भन्छिन्, ‘भक्का बेचेर नै आफ्नो घर परिवार चलेको छ । जाडोमा भक्काको माग बढी हुने भएका कारण व्यपार राम्रो छ ।’

उनले थप भनिन्, ‘भक्का बेचेरै आफ्नो सन्तान पढाउनका साथै उनीहरुको बिहेबारी समेत गर्न सहज भएको छ ।’ उनीहरु जस्तै अन्य थुपै्र महिलाहरुले भक्का बेचेर नै आफ्नो परिवारको गर्जो टार्ने गरेका छन् । यसरी थोरै लगानीमा राम्रो आम्दानी हुने यी र यस्ता व्यवसायप्रति महिलाहरुलाई आकर्षण गर्न सके थुप्रै महिलाहरु आत्मानिर्भर हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV