२६ मंसिर २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पछिल्लो समय पर्सा जिल्लामा पर्ने नेपाल–भारत सीमा नाका क्षेत्रबाट व्यापक तस्करी बढेको छ । वीरगञ्जको भन्सार क्षेत्रलगायत जिल्लाको ग्रामीण क्षेत्रका नाकाहरुबाट अहिले व्यापक रुपमा तस्करी कार्यमा बृद्धि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा एवं सशस्त्र प्रहरी कार्यालय १३ नम्बर गणबाट ग्रीन सिग्नल पाए लगत्तै नाका क्षेत्रमा रहेका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) एवं नेपाल प्रहरी चौकीका इन्चार्जहरुले आँखा चिम्लेपछि तस्करीमा व्यापक बृद्धि भएको हो ।

वीरगञ्जको भन्सार क्षेत्र इनर्वा, छोटी भन्सार नाका, भकुवा नाका लगायत ग्रामीण भेग सिर्सिया, अलौं, विन्दवासिनीको झौवा, इटियाही, अमरपट्टि, प्रसौनीभाठ्ठा, पकहामैनपुरको धोरे, खेस्राहा, जगरनाथपुरको जानकीटोला, दसौता, पाण्डेपुर, छिपहरमाईको भिस्वा, भलुवाही, मिर्जापुर, टिहुकी चारगाहा लगायतको नाकाहरुबाट व्यापक तस्करी भइरहेको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सीमा क्षेत्रमा अहिले व्यापक तस्करी बढेको हो । पर्सामा नयाँ प्रहरी प्रमुखमा रमेश कुमार बस्नेत आएपनि तस्करीको समान रोक्नुको साटो झन तस्करी फस्टाएको स्थानीयहरुको आरोप छ ।

सीमामा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्ज तथा जिल्ला प्रहरी कार्यलय पर्साको क्राइम शाखा र सादा पोसाकमा खट्ने प्रहरीसँगको मिलोमत्तोमा पर्सामा ऐतिहासिक तस्करीको लाइन खुलेको हो । भारतीय बजार रक्सौल, भेलाही, सिकटा, मैनाटार, इनार्वा, प्रसुतिपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा कपडा, हार्डवेयरको सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सूर्ति, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्लालगायतका भारतीय सामग्रीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेका छन् ।

यसैगरि ग्रामीण भेगको सीमावर्ती क्षेत्रबाट भैसीको तस्करी पनि व्यापक बढेको छ । विन्दवासिनी गाउँपालिकाको बहुअर्वा नाका, पकहामैनपुर गाउँपालिकाको धोरे नाका एवं जगरनाथपुर गाउँपालिकाको जानकीटोला नाका हुँदै भैसीको तस्करी गरि पर्सा जिल्लाको विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरिएको छ ।

भैसी तस्करीलाई प्रोत्साहन गर्ने उद्देश्यले नै जगरनाथपुर गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै नेपाली भूमिमा भैसी बजार नै निर्माण गरिएको छ । जहाँ स्थानीयहरुले आफ्नो भैसी बेच्नु भन्दा पनि भारतबाट तस्करी गरी ल्याइएका भैसीहरु विक्री वितरण गर्ने गरिएको छ ।

त्यसैगरि नेपालबाट भारततर्फ डिजेल, पेट्रोल, केराउ, मोटर, मरिच, सुपारी, रक्सी, कबाडको सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समानहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमितामो भरततर्फ निकासी भइरहेको छ । जसमध्ये सबै भन्दा बढी पेट्रोलियम पदार्थको तस्करी भारततर्फ भइरहेको छ ।

नेपाल भन्दा भारतमा पेट्रोल र डिजलमा करिब ३५ देखि ४० रुपैयासम्म बढी पर्ने गरेको कारण तस्करहरुले पेट्रोलियम पदार्थको तस्करी कार्यमा तीब्रता दिएका छन् । यसैगरि तेश्रो मुलुकबाट आयातित केराउ, मरिच, मटर पनि सीमा क्षेत्रमा तस्करहरुले गोदाम नै राखी भारततर्फ निर्यात गर्दै आएका छन् ।

विशेष गरेर साँझ र विहानको समयमा ब्यापक तस्करी हुने गरेको छ । तस्करी बढेपनि सशस्त्र प्रहरी प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाल प्रहरी उपरीक्षक रमेश बस्नेत मौन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV