२५ मंसिर २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन भएको नेकपा एमाले र जारी नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तमा केन्द्रित नभई भीड जम्मा गर्नकै लागि गरिएको बताएका छन् ।

शनिबार पार्टीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै एमाले र कांग्रेसको अधिवेशनले कुनै नयाँ विचार नजन्माउने भन्दै भीड जम्मा गर्नका लागि महाधिवेशन गरिएको अध्यक्ष प्रचण्डले बताए ।

एमालेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले पञ्च र्यालीको संज्ञा दिए । माक्र्सवादको म उच्चारण नगरेर व्यक्ति पूजा गरिएको प्रचण्डको भनाइ छ ।
‘कमरेड नाराणकाजीजीले भन्नुभएको कुरा ठीकै हो, भीडका लागि महाधिवेशन गरिएको छ । एमालेको महाधिवेशनमा पनि देख्यौँ । कांग्रेसको अधिवेशन पनि चलिरहेको छ । एमालेलाई त म पञ्च र्यालीभन्दा केही देख्दै देख्दिन । निभ्ने बेलाको बत्तीजस्तोमात्र हो त्यो । न त्यहाँ कुनै विचा, बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको रुपमा गयो,’ उनले भने, ‘दुनियाँले देख्यौँ । तपाई हामी सबैले देख्यौँ नि, त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहीनताको प्रदर्शन गरियो ।’

एमाले महाधिवेशपछि हाल जारी कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको आलोचना गरे ।

उनले भने, ‘नेपाली कांग्रेस पनि हामी हेरिरहेका छौँ । उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन ।’

महाधिवेशनको नाममा भेला र मेला गर्न माओवादीले पनि गर्न सक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले अहिले माओवादीलाई भेला र मेलामा जम्मा नभएर विचार बहसमा केन्द्रित हुन जरुरी रहेको बताए ।

‘भेला सदस्यता नवीकरणदेखि प्रदेश सम्मेलनसम्म आइपुग्दा नयाँ विचार र पार्टीको खोजीमा छौँ । हामीलाई कसैले भन्यो कि हामी पनि त्यस्तै ताझाम गरौँ । ८ लाख सदस्यता भएको पार्टी त हामी भइनैसक्यो,’ उनले भने, ‘८ लाखमध्ये ४ लाखलाई मात्रै जम्मा हुन उर्दी जारी गर्यो भने पनि अरुकाभन्दा चाहीँ ठूला मेला र भेला हामी पनि गर्न सक्छौँ । गरौँला पनि कुनै दिन तर, अहिले हामी विचारमै केन्द्रित हुन जरुरी छ । हामी तामझाम देखाउनेभन्दा गुण तत्व निर्माणमै केन्द्रित हुन भेला, सम्मेलन गरिरहेका छौँ ।’

अध्यक्ष प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको पनि बताएका छन्। साथै, आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV