२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराईको मुद्दा सम्बोधन नभए ज्वालामुखी विस्फोटन हुन सक्ने बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै वर्तमान संविधानसँग असन्तुष्टि पोख्दै उनले तराईको मुद्धा सम्बोधन नभए ज्वालामुखी विस्फोट हुने बताए ।

‘हाम्रो असन्तुष्टि वर्तमान संविधानसँग रहँदै आएको छ र असन्तुष्टि कायमै छ । थरुहट आन्दोलनदेखि असन्तुष्टि प्रकट हुन थालेको छ । थरुहट आन्दोलन यसको विरोधमा हुँदा हामीले शान्तिपूर्ण आन्दोलन गर्यो । तर, गोलीगाँठ चल्न थाल्यो । अहिले पनि हाम्रो नेताहरु जेलमा छन् । तारिखमा छन् । सांसद रेशम चौधरी टिकापुर घटनामा जेलमा छन् । महोत्तरीमा पनि त्यस्तै घटना भएको छ । उक्त घटनामा ९६ जनामाथि मुद्धा परेको छ र ३ जना जेलमा छन् । अहिले समस्या छँदैछ । सम्बोधन चाहन्छौँ । त्यसैले माग सम्बोधन हुनुपर्छ । त्यसो नभए ज्वालामुखी विस्फोट हुन सक्छ, सडकमा आउनुपर्ने हुन सक्छ । त्यस्तो नहोस्,’ उनले भने ।

अध्यक्ष ठाकुरले पार्टीभित्र पनि स्थिरता आवश्यकता रहेको पनि बताएका छन् । राजनीतिक दलले सरकार बनाउने व्यवस्था भएकाले दलभित्र अस्थिरता हुँदा त्यसको प्रभाव सरकारमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV