२४ मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य,

विराटनगर । सडक दुर्घटना न्यूनीकरण गर्न तथा कोरोना सचेतनालाई प्रभावकारी बनाउन प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम गर्ने भएको छ ।

आगामी पुस ४ गतेदेखि आयोजना गरिने सो कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरोकारवालासँग शुक्रबार छलफल गरिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालयको नेतृत्वमा बनाइएको प्रतिवेदन कार्यान्वयन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीको अध्यक्षता सम्पन्न छलफल कार्यक्रममा सहभागीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चालक र ट्राफिक प्रहरीले कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पराजुलीले सडक दुर्घटनाबाट हुने क्षति न्यून गर्न सबैको सहयोग र सुझाव आवश्यक भएकोले सुरक्षित सडक अवधारणालाई कार्यान्वयन गर्न प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्ने जानकारी दिए ।

सो कार्यक्रममा ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी, सवारी चालक संघ संगठनका प्रतिनिधिहरु र नागरिक समाजको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV