२४ मंसिर २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउन प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ ।’

यस अगाडि उनले देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका थिए । उनले सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको टिप्पणी गरे ।

सबै नेताहरुले विश्वास गुमाएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘सबै कुरालाई ठीक लगाउनुपर्ने राजनीतिले हो । तर, राजनीति नै ठीक ठाउँमा छैन । नेताहरूले विश्वास गुमाएका छन् । कांग्रेसको महाधिवेशनले नेतृत्वको विग्रेको छवि सुधार्ने अवसर जुराओस भन्ने शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV