२३ मंसिर २०७८, बिहीबार

काठमाडौं । भोलि (शुक्रबार) देखि नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र भोलि १ बजे दिउँसो भृकुटीमण्डपमा हुने कार्यतालिका तय भएको पार्टी कार्यालय, सानेपाले जनाएको छ ।

अहिले उद्घाटन स्थल वरिपरि झण्डा र ब्यानर बोर्ड झुण्डिएका छन् । पार्टी कार्यालय, सानेपाका अनुसार भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधि आउँदैछन् ।

कोरोना महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन सत्रमा महाधिवेशन प्रतिनिधि र सहभागी हुने सम्बन्धित व्यक्तिमात्र आउने बताइएको छ ।

महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । प्राय सबै महाधिवेशन प्रतिनिधि बिहीबार नै काठमाडौं आइसकेर महाधिवेशनको झोलासहितका सामग्री लिएर गइसकेको बताइएको छ ।

महाधिवेशनमा आएकाहरुलाई भोलिको उद्घाटन सत्रमा ब्रेकफास्ट र लन्चको व्यवस्था गरिएको छैन, डिनरमात्र व्यवस्था गरिएको छ । २५ गतेदेखि २७ गतेसम्म भने ब्रेकफास्ट, लन्च र डिनरको पूर्ण व्यवस्था गरिएको छ ।

महाधिवेशनमा खानपानको भव्य व्यवस्था गरिएको छ भने खानपानको जिम्मा गौशलाको अनुपम फूडल्याण्डले लिएको छ । र, महाधिवेशनभर फूडल्याण्डले खानपिनको प्रबन्धसहित दक्ष सेफहरु परिचालन गर्ने भनिएको छ ।

महाधिवेशनका लागि नेपाल प्रहरीले सुरक्षाको प्रबन्ध मिलाउने र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नेछ । महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उद्घाटन सत्रपछिका कार्यतालिका

उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म गरिने समितिले जनाएको छ । त्यसपछि उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुनेछ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ राति १२ बजेभित्र गरिसकिने समितिले जनाएको छ । मनोनयन पत्र फिर्ता लिनका लागि मङ्सिर २६ गते बिहान ११ बजेसम्मलाई तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १ बजेभित्र गरिसकिने समितिले जनाएको छ । त्यसपछि मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि सुरु हुने समितिले जनाएको छ ।

मतदानपछिको कार्यतालिका

मतदान सकिएपछि मतगणना सुरु हुनेछ । र, सभापति पदको मतगणना मतदान समाप्त भएपछि महाधिवेशन अन्त्य हुनेछ।

तर, यदि कथमकदाचित सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने सिर्जना भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै मतदान गरिनेछ ।

मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने पार्टी कार्यालयले जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र रहेका छ ।

को कसरी निर्वाचित हुँदै छन् ?

बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेका प्रतिवेदन र प्रस्तावहरु महाधिवेशनमा प्रस्तुत गरिनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचित हुने व्यवस्था छ भने कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था रहेको छ।

यससँगै महाधिवेशनबाट ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी(जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वातित हुनेछन् ।

महाधिवेशनबाट निर्वाचित सभापतिले पछि ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV