२३ मंसिर २०७८, बिहीबार

एजेन्सी । स्पेनिस् क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना लिगबाट बाहिरिएको हो ।

बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो । यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो ।

बायर्नलाई सहज जित दिलाउनको लागि थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले समान एक-एक गोल गरे ।

खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए । ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३-० जित दिलाए ।

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । उसले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV