२२ मंसिर २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझ सभापतिको उम्मेदवार चयन गरेर पदाधिकारीका उम्मेदवार पनि चयन गर्ने मंगलबार भनेको थियो ।

तर, सभापतिमा साझा उम्मेदवार बनाउने सन्दर्भमा बुधबार सभापतिका प्रत्यासी प्रकाशमान सिंह र डा. शेखर कोइराला पछि नहट्दा पौडेल चेपुवामा परे । र, साझा सभापति चयन गर्ने सपनै भयाे ।

दुवै जना अघि नै हिँड्न खोजेपछि गलेका पौडेल बुधबार सिंह निवास चाक्सीबारीमा  झोक्किएका छन् । उनले उम्मेदवारीमा नलड्ने बरु पार्टीबाटै अलगत भएर घरमा आराम गर्ने भनेका छन् ।

पौडेलनिकट एक नेताले भने, ‘आज पनि सभापतिको उम्मेदवार तय भएन । दुवैजना पछि हट्न नमानेपछि उहाँ (पौडेल)ले म राजनीति र पार्टीबाट बिदा लिन्छु, घरमै आराम गर्छु भन्नुभयो।’

सभापतिको उम्मेदवारबारे टुंगो नलागेपछि संस्थापन इतरका कांग्रेस नेता डा. रामशरण महतले भने सबै उम्मेदवारबाट पछि नहटेकोमा सबै शेरै शेरै भएको टिप्पणी गरेका छन् ।

डा. महतले पौडेलले प्रकाशमानलाई आफूलाई सहयोग गर्न भन्दा ‘हुँदैन, म पनि लड्ने’ हो भनेको र शेखरले पनि त्यहीँ बोली बोलेपछि उम्मेदवार चयन नभएको बताएका छन् । उनले सबैलाई किन साझा उम्मेदवारी तय नगरेर सबै लडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV