२२ मंसिर २०७८, बुधबार
  • विजय साह,

धनुषा । ऐतिहासिक रामजानकी विवाह महोत्सव आज जनकपुरधाममा हर्षोल्लासका साथ मनाइदैछ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सात दिने विवाह पञ्चमी महोत्सवको आज छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह हुनेछ । दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी स्वयम्वर कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

स्वयम्वर कार्यक्रमको शोभा बढाउन हेलिकप्टरबाट पुष्प वर्षा गरियो । महोत्सवमा नेपाल तथा सीमा क्षेत्रका मन्दिरबाट झाँक्रीसहितको डोला लिएर सहभागी भएका थिए । महोत्सवमा भारतको विभिन्न राज्यसहित विभिन्न स्थानबाट हजारौंको संख्यामा स्वयवरमा सहभागी भएका थिए ।

त्यस पश्चात् राम र सीताको डोला रामानन्द चौक, पिडारी चौक, मिल्सएरिया, भानुचौक हुँदा जानकी मन्दिर आएका छन् । विवाह महोत्सवमा भाग लिन श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ । स्थानीय संघ संस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क रुपमा आवास, भोजन उपलब्ध र स्वास्थ सेवा उपलब्ध गराएका छन् ।

महोत्सवमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महोत्सवलाई ध्यानमा राख्दै नियमित भन्दा आठ सयबडी सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै ट्राफिक व्यवस्थापन मिलाउन तीन सय ट्राफिक प्रहरी खटिएका छन् ।

विगतका विवाह पञ्चमी महोत्सवमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, संघीय मन्त्रीलगायत प्रदेश २ का मुख्यमन्त्री, मन्त्रीलगायत देशको विशिस्ट व्यक्तिको सहभागिता रहन्थ्यो । तर, पछिल्ला दुई वर्ष वर्ष कोरोना महामारीका कारण विशिस्ट व्यक्तिहरु उपस्थित भने छैन ।

विशिस्ट व्यक्तिलाई बढी भिडभाड हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आयोजक समिति निम्तो नगरेको बताइएको छ । यद्यपि यस वर्ष पनि एकलाख श्रद्धालुको उपस्थिति रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV