२२ मंसिर २०७८, बुधबार

काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बुधबार बूढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीका आकांक्षी नेताहरुसँग छलफल गरे पनि बैठक निष्कर्षविहीन टुंगिएको छ ।

देउवाले बैठकमा आकांक्षीहरुमध्ये छनौट गर्दा उम्मेदवारका आकांक्षी असन्तुष्ट र धेरै भएपछि सहमति जुट्न नसकेको बताइएको छ । बैठकमा उपसभापति विजयकुमार गच्छदारले आफू उपसभापति पदमा दाबी गर्ने बताए ।

महामन्त्रीमा संस्थापन समूहबाट सहमहामन्त्री डा. प्रकाशरण महत, बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा रहेका छन् ।

देउवाले बैठकमा पार्टीका प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मालाई खस आर्यबाट सहमहामन्त्रीको उम्मेवार बन्न प्रस्ताव गरेका छन् ।

शुक्रबार (मंसिर २४ गते) कांग्रेसको महाधिवेशनको उद्घाटन हुँदैछ भने मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका रहेको छ । तर, अहिलेसम्म कांग्रेसको संस्थापन र पौडेल समूहले उम्मेदवारको नाम टुंगोमा पुर्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV