२२ मंसिर २०७८, बुधबार

सर्लाही । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सम्पन्न सर्लाहीको क्षेत्र नम्बर ४ को अधिवेशनमा संघीय सांसद अमरेशकुमार सिंह पराजित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सिंहको प्यानल नै पराजित भएको हो ।

क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा संस्थापन पक्षका रामआश्रय साह निर्वाचित भएका छन् । ५ सय १७ मतसहित रामआश्रय साह क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । यता सांसद सिंह पक्षका हरेन्द्र सहनीले २ सय २७ मत मात्र ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका सबैजनाको मत ५ सय भन्दा बढी छ । महाधिवेशन प्रतिनिधिमा वीरेन्द्र सिंह ५१४ मतसहित विजयी भएका छन् । यता सांसद सिंहले भने २ सय ४८ मत मात्र ल्याए ।

सर्लाही जिल्लाकै सबै भन्दा बढी विवादित क्षेत्र नम्बर ४ को वडा अधिवेशनमा दुई पक्षबीचको विवादपछि झडपसम्म भएपनि क्षेत्रीय अधिवेशन भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV