२१ मंसिर २०७८, मंगलवार

साधन राम्जाली

म्याग्दी । ढोरपाटन नेपालकै एक मात्र शिकार आरक्ष हो । यो आरक्षमा वर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी पुग्छन् । ढोरपाटन पर्यटनका लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी, बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटनमा साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि पनि जाने गर्छन् ।

बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेपछि थप ३६ किलोमिटर कच्ची सडकबाट ढोरपाटन पुगिन्छ । धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा लगायत रहेका छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत रहेका छन् ।

ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । उपत्यका क्षेत्रमा पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् । यो वर्ष मंसिर महिनाको दोस्रो सातादेखि ढोरपाटनका डाँडामा हिउँ पर्न थालेपछि चिसो बढेको छ । चिसो बढेपनि पर्यटकको आगमनमा भने कमी आएको छैन ।

कच्ची सडक स्तरीय भएपछि पर्यटक बढ्ने अनुमान छ । ढोरपाटन शिकार आरक्ष कार्यालयको तथ्याङक अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण र निषेधाज्ञाका विच पनि गत आर्थिक बर्षमा ६ हजार ७ सय तीन जना पर्यटक ढोरपाटन पुगेका छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत ढोरपाटन घुम्न आउने गरेका छन्,’ स्थानीय होटल व्यवसायी सुरज पौडेलले भने ।

ढोरपाटन क्षेत्रमा चार वटा सामुदायीक होमस्टे सञ्चालित छन् । घुम्न र पुजा गर्न ढोरपाटन पुग्ने पर्यटकलाई लज र सामुदायीक होमस्टेले सहज बसोबासको व्यवस्था गरेको छ । उत्तरगंगाको ढोरबराहमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ बैशाख पूर्णिमा र जनै पुर्णिमा ठुलो मेला लाग्ने स्थानीय रबिन्द्र भण्डारीले बताए ।

ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । तर, शिकार आरक्षको मध्यवर्ती क्षेत्र घोषणा नभएकोले वैधानिक रुपमा बिक्री गर्न नसकिएको शिकार आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताए । मध्यवर्ती क्षेत्र घोषणा नहुँदा चोरी शिकारी भइरहेको छ ।

यहाँ निर्माण गरिने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाले पनि धेरैको मन तानेको छ । चासो राख्नेहरुले जलविद्युत् आयोजना निर्माण गरिने प्रस्तवित स्थल घुम्ने गरेको स्थानीय डिलबहादुर बिक (सुनार)ले बताए । उपत्यका क्षेत्रमा स्थानीयले आलु ,सिमी लगायत उत्पादन गर्दै आएका छन् ।

प्रचारप्रसारको कमी र पुर्वाधार अभावले ढोरपाटनका अन्य फागुने लेक, बुकी ,गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्रमा कमै मात्रामा पर्यटक पुग्ने गरेको नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष दिल श्रीसले बताए ।

करिव चार हजार मिटरको उचाईमा रहेका उक्त बुकी क्षेत्र धौलागिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमशृङ्खला नजिकबाट अवलोकन गर्नको लागि उपयुक्त क्षेत्र हुन् । ढोरपाटन क्षेत्रका पशुपालक कृषकहरु जेठदेखि असोजसम्म गाई, भैंसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् ।

ढोरपाटन क्षेत्रका स्थानीयको घुम्ती बसाइँ, घुम्ती पठन पाठन, घुम्ती व्यापार र जीवनशैली पनि अध्ययन र अवलोकनको लागि आकर्षक विषय हुन् । ढोरपाटन सिकार आरक्ष प्रवेश गर्दा नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र विदेशी नागरिकलाई तीन हजार रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

गण्डकी प्रदेश कानुन,सञ्चार ,तथा प्रदेश सभा मामिला मन्त्रालयको सहयोग र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा (१७–१८) ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका र पत्रकार क्षमता अभिबृद्धि बिषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव धर्मराज कुइकेलले पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका महत्वपुर्ण रहेको बताए । प्रदेश सरकारले नयाँ पर्यटकीय स्थलको पहिचान र पर्यटकीय क्षेत्रमा पुर्वाधार विकासमा जोड दिएको उनको भनाइ थियो ।

ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बताए । मन्त्रालयको सहयोगमा यस अघि पनि स्याङजाको सिरुबारी सहित विभिन्न पर्यटकीय क्षेत्रमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको फोनिज गण्डकीका महासचिव रुद्र श्रीस मगरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV