१९ मंसिर २०७८, आईतवार
  • दान बहादुर बुढा

मुगु । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढी बजारको तल्लो बजारमा कात्तिक २९ गते राति आगलागी हुँदा १९ घर जलेर पूर्ण रुपमा जलेर नष्ट भएपछि घरबारविहीन भएका ती अग्निपीडित अहिले मंसिरको चिसोमा त्रिपालमुनि सित र चिसोमा रात बिताउन बाध्य छन् ।

आगलागीबाट पूर्ण रुपमा १९ घर र २४ होटेल तथा पसलमा क्षति पुगको छ । साथै, घर भाडा लिइ बसेका ३३ जनाको घरमा आंशिक क्षति पुगेको छ भने ८१ जना आगलागीबाट प्रभावित हुन पुगेका छन् ।

आगलागीबाट ३५ करोड भन्दा बढीको क्षति भएको बताइएको छ । अहिले १९ घर/परिवारमध्ये १२ घर/परिवारका मानिसहरु आफन्तका र छिमेकीको घरमा बस्दै आएका छन् भने ८ घर/परिवार त्रिपालमुनि बास बस्दै आएका छन् ।

मंसिरको चिसोमा त्रिपालमुनि रात काट्दै आएका अग्नीपीडितहरुले विभिन्न संघ, सस्थाबाट खाद्यान्न, नगद र भाडाकुँडालगायत सामग्री राहतस्वरुप पाएका छन् । तैपनि पीडितहरुको घाउँमा मल्हम लागेको छैन ।

मंसिरको जाडोमा त्रिपालमुनि बसेका बालबच्चा र बूढाबूढी सबैभन्दा बढी प्रभावित हुन पुगेका छन् । एक मात्र अस्थायी शौचालय हुँदा दिसापिसाब गर्न सास्ती भएको छ ।

दिउँसोको जनजीवन सामान्य भए पनि साँझ हुन थालेपछि अग्निपीडितहरुको आँखामा आँशु टिल्पिलाउँछ । रातिको चिसो र त्रिपालबाट चुहेको सितले कपडा नै भिजाउँछ ।

कर्णाली प्रदेश सरकारले बाचा गाँस, बाँस र कपासको उचित व्यवस्था गर्ने घोषणा गरे पनि अग्निपीडितहरुले उक्त राहत पाएका छैनन् । त्रिपालमा बसेर रात काट्दै आएका पीडित डुवासाग्मु लामा सरकारले सानो एक तले घरको ब्यवस्था गरिदिन अनुरोध गर्दछन् ।

कर्णली प्रदेश सरकारले आवासको ब्यवस्था गर्ने भनेको २० दिन कटिसक्दा पनि अहिलेसम्म आवास निर्माणको कुनै सुरसार भएको देखिँदैन । केही संघ, सस्था र सरकारी निकायबाट उपलब्ध भएको राहतले केही दिन पुगे पनि त्यसपछि के गर्ने ? पीडितहरु मन नमीठो बनाउँछन् ।

यो हृदय विदारक दृश्य हेर्दा त्यहाँ स्थानीय र सरकार नभएको आभास हुन्छ । अग्निपीडित छुम्बा लामा अब यस्तै ताल हो भने भारत भासिनुपर्ने दुखेसो पोख्छन् ।

आगलागीपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भू्मि, ब्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्र बहादुर शाही नेपाली सेनाको हेलिकप्टरबाट मुगु पुगेर अग्निपीडितहरुसँग भेटेर आवासका लागि बजेट व्यवस्था गर्ने बाचा गरेका थिए । तर, अहिलेसम्म पीडितहरु सरकारले आवास व्यवस्था गरिदिन्छ कि भन्ने आशै आशमा त्रिपालमुनि चिसो रात काँट्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV