१८ मंसिर २०७८, शनिबार
  • युवराज आचार्य

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ स्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा भएकाे ‘प्रथम एनी फाक्तेप गोल्डकप २०७८’ को उपाधि धरान सिटी फुटबल क्लब सुनसरीले जितेको छ ।

उपाधिका लागि शनिबार भएको फाईनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा झापालाई टाइब्रेकरमा ६–७ गोल अन्तरले पराजित गर्दै धरान सिटी फुटबल क्लबले उपाधि चुमेको हो ।

अत्यन्तै रोमाञ्चक भएको फाइनल खेलमा खेल सुरु भएको १७ औं मिनेटमा तुर्केनी फुटबल क्लब काँकडभिट्टाका मिलन राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, त्यो धेरै बेर टिक्न सकेन २३ औं मिनेटमा धरानका विबेक राईले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

त्यसको लगत्तै २५ मिनेटमा धरान कै विनोद राईले गोल गरेर टिमलाई अग्रता दिलाए । खेलको दोश्रो हाफमा तुर्केनी क्लवका मिलन राईले पुनः गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा दुबै टिमबाट समान २/२ गोल भएपछि नतिजा ट्राईब्रेकरबाट लिइएको थियो । जसमा धरान सिटी भाग्यमानी साबित बन्यो ।

प्रतियोगिताको विजेता बनेको धरान सिटीले नगद १ लाख १ हजार रुपैयाँ हात पार्दा उपविजेता बनेको तुर्केनी फुटबल क्लबले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

त्यस्तै समापन समारोहका प्रमुख अतिथि १ नम्वर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले नेपालको फुटवल ईतिहासमा पुर्वाञ्चलको योगदान ठूलो रहेको बताउनुभयो ।

फुटबलको उर्भर भुमिका रुपमा रहेका पुर्वाञ्चलका झापासहित मोरङ्ग र सुनसरीबाट ठूलो संख्यामा राष्ट्रिय टिममा फुटवल खेलाडी सहभागी हुने गरेको बताउदै उहाँले झापामा राम्रो खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको बताउनुभयो । साथै, त्यसको समाधानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बचन बद्धता समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV