१८ मंसिर २०७८, शनिबार
  • राजन परियार,

सिन्धुली । सिन्धुलीको मरिणखोलामा हरिहरपुरगढी गाउँपालिका–२ को बखफर र वडा नम्बर ४ को हाकपारा जोड्ने पक्किपुलको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शिलान्यास गरेका छन् ।

मरिण नदिमा पुल नहुँदा उक्त क्षेत्रका नागरिकहरुले वर्षौंदेखि कष्टकर जीवन यापन गर्दै आएका छन् । बागमती प्रदेशकै सबै भन्दा धेरै लागतमा २६२.४० मिटर लम्बाई र ८.४ मिटर चौडाई भएको पुलको निर्माण सुरु गरिएको हो ।

प्रादेशिक सडक डिभिजन कार्यालय बागमती प्रदेशको कुल १९ करोड २५ लाख ४१ हजार ८ सय १७ रूपैयाँ लागतमा उक्त पुल निर्माण हुन लागेको हो । हिम्दुंग र थोकर इम्मानुयल सारस जेभिले २०७९ पुस २२ गते भित्र सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मा पाएको बागमती प्रदेश भौतिक मन्त्रालयका सचिव अशोक कुमार शाहले बताए ।

पुल निर्माणपछि सिन्धुली, मकावनपुर, काभ्रे, सर्लाही र रौतहट जिल्लाका नागरिक लाभान्वित हुनेछन् । मदन भण्डारी राजमार्गबाट बखफर–हाकपुर हुँदै पुर्वपश्चिम महेन्द्र राजमार्ग सर्लाहीस्थित कर्मैया जोडिनेछ ।

यसअघि पुल नहुँदा मरिण नदिले बगाउँदा यस क्षेत्रका दर्जानौं स्थानीय नागरिकले अकालमा ज्यान गुमाएका थिए । लामा विधिबाट भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका मुख्यमन्त्री पाण्डेले पुलको निर्माणपछि यस क्षेत्रको विकासले कायापलट ल्याउने विश्वास व्यक्त गरे ।

पुल निर्माणले काभ्रे, मकावनपुर, सिन्धुली, सर्लाही र रौतहट जिल्ला जोड्नेगरी सडकको समेत काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले भने, ‘सिन्धुली जिल्ला जुनारको राजधानी भएकोले जुनारको विकासका लागि समेत आवश्यक सहयोग गर्नेछु ।’

हेटौंडा–सिन्धुली–चतरा (मदन भन्डारी लोकमार्ग) अन्तर्गत सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीको पक्की पुल निर्माणमा ढिलाई भएको प्रति चासो राख्दै तत्काल निर्माण सम्पन्न नभए कारबाही गरिने समेत पाण्डेले चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV