१८ मंसिर २०७८, शनिबार

काठमाडौं । केही दिनदेखि आएको मौसमको खराबी सोमबारबाट हट्ने भएको छ । शुक्रबार मुलकभर छिटफुट वर्षा भएको थियो ।

आज पनि केही स्थानमा वर्षा हनुे भएपनि सोमबारबाट भने मौसममा सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले नेपालको मौसममा खराबी आएको बताएको छ ।

महाशाखाका अनुसार यतिबेला प्रदेश १ र प्रदेश २ लगायत आंशिक बदली छ । त्यसबाहेकका अन्य क्षेत्रमा भने मौसम सामान्य रहेको बताइएको छ ।

बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।

आइतबारबाट उक्त चक्रवात पश्चिमतर्फ जाने भएकाले सोमबारबाट यो क्रम हट्दै जानेछ । आईतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

सोमबारसम्म पर्वतारोहण, हवाई यातायत लगायत नगर्न मौसमविदहरुले सुझाएका छन् । त्यस्तै चिसोबाट बच्न र हिमपातको प्रभावबाट बच्नसमेत मौसमविदहरुको आग्रह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV