१७ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबमाथि सानदार जित दर्ता गरेको छ । शुक्रबार (आज) भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा समेत उक्लिएको छ ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे । सुशील राईको नाममा एक गोल रह्यो । एपीएफका बिकी तामाङले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।

इन्जुरी समयमै मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकीले गोल गर्दै एपीएफलाई २–१ गोलको स्थितिमा ल्याए ।

तर, खेलको ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै सातदोबाटोलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै सातदोबाटोलाई ४–१ को जित दिलाए ।

सानदार जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ३ खेलमा ७ अंक जोडेको छ । एपीएफको यो लगातार तेस्रो हार हो । अंकविहीन एपीएफ पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV