१७ मंसिर २०७८, शुक्रबार

काठमाडौँ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्यास भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले जनाएको छ । पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी गर्दै निगमले नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने बेहोराको विज्ञप्ति जारी गरेको हो ।

निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी रहेकाे निगमका एक अधिकारी बताउँछन् । नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने ती अधिकारीले बताए ।

विक्रीबितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने निगमकाे प्रक्षेपण छ । यस्तै, ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV