१५ मंसिर २०७८, बुधबार

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । आज प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले विवाह पञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन् ।

उनले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए ।

विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारका तर्फबाट मूल नाकामा प्रवेशद्वार निर्माण गर्नुका साथै खानेपानीको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन् ।

बैठकमा अर्थ उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चारराज्यमन्त्री रुवीकुमारी कर्ण, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव रामकुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिरचन्द्र केसी, नेपाल प्रहरीका नायब महानिरीक्षक उमेश रञ्जितकार, सशस्त्र प्रहरीका नायब महानिरीक्षक गणेश ठाडा मगरसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV