१२ मंसिर २०७८, आईतवार

रुकुम (पश्चिम) । अर्थमन्त्री जनार्दन शर्माले कुनै आयोजना बनाउँदा स्थानीयले जग्गाको भाउ बढाउने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठबिसकोटमा आयोजित विभिन्न कार्यक्रमहरूलाई सम्बोधनका क्रममा उनले यस्तो असन्तुष्टि जाहेर गरे । सरकारले कुनै आयोजनाका लागि जग्गा अधिग्रहण गर्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको भन्दै यस्तो प्रवृत्तिले विकास नहुने बताए ।

उद्योग बाणिज्य संघ चौरजहारीका प्रतिनिधिहरु सम्मिलित कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘कुनै आयोजना निर्माण गर्न थाल्यो भने जग्गाको भाउ चर्काइन्छ । सरकारले किन्नै नसक्ने गरी मुआब्जा तोकिन्छ । यस्तो प्रवृत्ति रहेसम्म कसरी गर्ने विकास ?’

उनले चौरजहारी विमानस्थलको स्तरोन्नति कार्य र भेरी नदीमा जलविद्युत आयोजना बनाउने आफूहरुको सोच रहेको बताए । तर ती योजनाका लागि स्थानीयले जग्गाको भाउ मिलाउनुपर्ने, नत्र काम गर्न नसकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV