११ मंसिर २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । मोरङको बूढीगंगा गाँउपालिका–५ का निश्चल रायको शङ्कास्पद मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

१४ वर्षीय रायको मृत्यु भएको दुइ साता वितिसक्दा पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर, हत्यारालाई कारवाही गर, निश्चल रायलाई शहीद घोषणा गर जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

राय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश–१ का सह इन्चार्ज उपेन्द्र रायका छोरो थिए । उनको हत्या भएको आशंका गरिएको छ । यसैबीच नेकपा माओवादी केन्द्र मोरङले घटनाको छिटो छानबिन गरी दोषीलाई कारवाही नगरे पार्टीले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मृतक रायका बुबा उपेन्द्रले शव भेटिएपनि उनको मृत्यु आफै नभएर कसैले हत्या गरेको हुनसक्ने भन्दै न्यायको माग गरेका छन् । छोरा हराएपछि प्रहरीमा उजुरी गरेको तर, तत्काल खोजी नभएको कारण छोराको मृत्यु भएको उनले बताए ।

रायका आफन्त र स्थानीयले निष्पक्ष छानविनको माग गर्दै केही दिन यता प्रर्दशन गर्दै आएका छन् । मृतक रायको कोशी अस्पतल विराटनगरमा पोस्टमार्टम भएको थियो । भिसेरा जाँचको लागि भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV