११ मंसिर २०७८, शनिबार

काठमाडौं । च्यासल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आज (शनिबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित निकालेको हो ।

च्यासललाई जित दिलाउनका लागि रुमेश बर्तौलाले निर्णायक गोल गरे । पहिलो हाफमा दुवै टोलीले मौका पाएपनि गोल गर्न सकेनन् । तर, खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए ।

उनले कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट टप कर्नरमा गोल गरेका हुन् । उनको सोही गोल खेलको निर्णायक गोल बन्न पुगेको हो । यो जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ ।

त्यस्तै च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । यसअघि च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV