११ मंसिर २०७८, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंहले अब फेरि सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताएका छन् ।

पूर्वमहामन्त्री समेत रहेका सिंहले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला भएको भन्दै यसका केही कारण समेत रहेको बताए ।

शनिबार काठमाडौँमा जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेता सिंहले देउवाको नेतृत्वमा कांग्रेस निकै कमजोर भएको बताए ।

हाल प्रधानमन्त्रीसमेत रहेका देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहेका छन् । तर नेता सिंहले भने १३औं महाधिवेशनपछि कांग्रेस देउवा नेतृत्वमा कमजोर भएको र यसले गर्दा लोकतान्त्रिक प्रणालीमा असर परेको बताए । त्यही भएर पनि दुई–दुईपटक कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो ।

पार्टी विधिवत र नियमसम्मत नचल्दा पनि कमजोर भएको उनले बताए । साथै कम्युनिस्ट सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको सफल कार्यान्वयन नसकेको भन्दै कांग्रेसको नेतृत्वमा जारी भएको उक्त संविधानको सफल कार्यान्वयन पनि कांग्रेसकै जिम्मेवारी रहेको बताए । देउवा नेतृत्वबाट उक्त कुरा असम्भव रहेको भन्दै यिनै विविध कारणले गर्दा देउवालाई पुनः दोहोर्याउन नहुने सिंहको भनाइ थियो ।

देउवा पुनः दोहोरिएमा कांग्रेसलाई आगामी निर्वाचनमा गाह्रो पर्ने पनि उनले बताए । आगामी निर्वाचनमा पार्टीलाई जिताएर बहुमतको सरकार बनाउन र जनताको पनि जीवनस्तर परिवर्तन गर्न आफूले सभापति पदमा उम्मेदवारी घोषण गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV