१० मंसिर २०७८, शुक्रबार

जावलाखेल (ललितपुर) । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु पनि विभाजित भइरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उपस्थित डा.महतले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए ।

पार्टीको भातृ संगठन र विभागहरुको गठनमा विलम्ब नगरौ, सहमति नजुटे बहुमतबाट जाऔ भनेर सल्लाह आउदा सभापति देउवाले भनेका जवाफ स्मरण गर्दै उनले भने, “सभापतिले कम्युनिष्टहरुको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहंकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।”

पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबुझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उनको दाबी छ ।

त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताए । त्यस्तै उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा भइरहेको पनि बताए । उनले पार्टीको क्रियाशील सदस्यता दोब्बर भएको पनि उल्लेख गरे ।

उनले पहिले पार्टीको क्रियाशील सदस्यको संख्या साढे ४ लाख रहेको स्मरण गर्दै भने, “यसपटक झण्डै १०लाख पुगेको छ । युवा पिँडीको ठूलो सहभागिता भएको छ ।”

उनले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासँग तादात्म्य रहने गरी बनाइएकोले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको पनि बताए ।

उनले महाधिवेशनलाई ऐतिहासिक भन्दै महिलाहरुको सहभागिताले उत्साहजनक परिणाम दिने पनि बताए । उनले भने, “अहिलेको प्रतिनिधित्वको प्रावधानले केन्द्रीय समितिमा ५७ देखि ५८ जना महिला पुग्नुहुन्छ । केही पहिले जसरी ९० देखि ९५ प्रतिशत पुरुषहरुको प्रतिनिधित्व हर क्षेत्रमा देखिन्थ्यो,अब तस्विर फेरिदैछ, त्यो स्थान महिलाहरुले लिन सक्ने छन् । पार्टीको प्रदेश,जिल्ला र तल्ला तहमा पनि महिलाहरुको एक तिहाई प्रतिनिधित्व सुनिश्चित हुँदै आएको छ ।”

उनले यो अधिवेशनका क्रममा वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनका कार्यक्रमहरु पर्व जसरी सम्पन्न भइरहेको पनि बताए ।

 

LIVE TV