१० मंसिर २०७८, शुक्रबार

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप  उपचारका लागि चीन लगिएको छ । पूर्व अर्थ तथा उर्जामन्त्रीसमेत रहेका नेता पुन केही महिनाअघिबाट बैंककमा उपचाररत थिए ।

बैंककमा उपचार गर्दा उनको स्वास्थ्यमा भनेजति सुधार नभएपछि ‘थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज’ लगिएकाे बताइएको छ ।

नेता पुनलाई विश्वमै कमै देखिने जटिल प्रकृतिको जन्डिस देखिएको चिकित्सकहरुले बताएका छन् । बैंककमा रहँदा उनलाई डेढ महिनासम्म त्यहाँको ‘समितिभेज अस्पताल’मा उपचार गरिएको थियो ।

बैंककको उक्त अस्पतालले नेता पुनलाई यो भन्दा उपचार गर्न नसक्ने बताउँदै चिन लैजान सुझाव दिएको बताइएको छ । नेता पुनको अवस्था नेपालमा रहँदाभन्दा बैंककमा रहँदा झन जटिल बनेको थियो ।

बैंककबाट चीन पुगेर आजै मध्याह्नबाटै अस्पताल भर्ना गरिने पुनको सचिवालयले जनाएको छ । उनको जण्डिस वंशाणुगत भएको चिकित्सकहरुको भनाइ छ ।

कोरोना महामारीका कारण चीनले गरेको कडाई उडानमा नेता पुनलाई चीन जान समस्या परेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ पक्षसँग छलफल गरेर अनुमति पाएको बताइएको छ ।

नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पुन समेत रहेको बताइएको छ । नेता पुनले यसअघि नेपालकै ठूलठूला अस्पताल र भारतको एपोलो अस्पतालमा पनि उपचार गराएका थिए । तर स्वास्थ्यमा भने उल्लेख्य सुधार आउन सकेको छैन । बरू अझ समस्या बढेकाे उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV