९ मंसिर २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका अछन् । प्रधानमन्त्री देउवाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका दुवै बारका पदाधिकारीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार (भोलि) बिहान साढे १० बजेका लागि भेट्न बोलाएको नेपाल बारले जनाएको छ । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने बताइएको छ ।

त्यस्तै बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउने नेपाल बारले जनाएको छ ।

प्रधानन्यायाधीश जबराका कारण सिंगो न्यायालय बन्धक बनेको र उनलाई पदच्युत नगरेसम्म बारको आन्दोलन रोकिने छैन भनेर प्रधानमन्त्री देउवालाई जानकारी गराइने नेपाल बारले जनाएको छ ।

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् । त्यस्तै विगत एक महिनादेखि नेपाल बारमा आबद्ध कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV