९ मंसिर २०७८, बिहीबार

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई टाटा एलपीटीए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ । टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहमा भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका हुन् ।

कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने उक्त वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले भर्खरै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात उक्त ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो ।

रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गर्ने भारतीय दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV