९ मंसिर २०७८, बिहीबार

काठमाडौं । कोरोना महामारीका कारण दर्शकमाझ रिलिज हुन नपाएको ‘प्रेमगीत–३’को नयाँ रिलिज मिति तय गरिएको छ । निर्माता÷निर्देशक सन्तोष सेनले ‘प्रेमगीत–३’लाई फागुन १३ गतेबाट मुलुकभरका दर्शकमाझ रिलिज गरिने जानकारी दिएका छन् ।

निर्माता सेनले भनेका छन्, ‘कोरोना महामारीका कारण हामीले २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको फिल्म ‘प्रेमगीत–३’ को नयाँ प्रदर्शन मिति तय गरेका छौं । अब यो फिल्म नेपालभरका हलमा आगामी फागुन १३ गते प्रदर्शन हुनेछ ।’

त्यस्तै उनले बलिउड टिमसँग हिन्दी भर्सनको प्रदर्शनबारे छलफल भइरहेको बताउँदै भनेका छन्, ‘यस फिल्म हिन्दी भाषामा समेत प्रदर्शन हुँदैछ भन्ने तपाईहरुलाई अवगतै छ । तर, बलिउड टिमसँग हिन्दी भाषाको प्रदर्शनबारे छलफल भइरहेकाले हामीले सुरुमा नेपालभरका हलमा प्रदर्शन गर्ने निर्णय गरेका हौं ।’

यसका साथै उनले दर्शकका लागि एउटा चुनौती बोकेर फिल्म रिलिज गर्न लागेको बताउदै भनेका छन्, ‘महामारीको चोटलाई बिर्सिएर हामी अब चलचित्रको माहोल सिर्जना गर्ने हेतुले समेत यो निर्णय गरेका छौं ।’

सेनको बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।

करिब दुई सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा प्रस्तुत गरिएको ‘प्रेमगीत–३’लाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङ्गले संयुक्तरुपमा निर्देशन गरेका हुन् । फिल्मलाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV