९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा सोही पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरिएको छ । यादवको केन्द्रीय सदस्य पद खोसिएको हो ।

विगतमा पार्टी विभाजनको प्रयास गरेको तथा पछिल्लो गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको लगायत आरोपमा उनीमाथि कारबाही गरिएको हो ।

तर पार्टीको साधारण सदस्यता भने कायमै राखिएको छ । सांसद समेत रहेका प्रदीपको सांसद पद भने जोगिएको हो । पार्टीको साधारण सदस्यता पनि खोसिएको भए उनको सांसद पद समेत जाने थियो ।

प्रदीप यादवबारे थप छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा एक छानबिन समिति समेत गठन गरिएको बताइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा प्रदीपले पार्टी फुटाउने प्रयास गरेको आरोप लागेको थियो ।

त्यसपछि वर्तमान गठबन्धन सरकार बनेपछि मन्त्री बन्न खोजेका उनलाई पार्टीले मन्त्री नबनाएपछि आफ्नो क्षेत्रबाट आएका कार्यकर्ताहरु खटाएर पार्टीको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुका साथै अध्यक्ष उपेन्द्रको पुत्ला समेत जलाएको आरोप उनीमाथि छ । यद्यपि यी आरोपको पुष्टि भने छानबिनपछि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV