८ मंसिर २०७८, बुधबार

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेकी न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।

वि.सं. २०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपाने २०५६ सालबाट निरन्तर नेकपा एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा रहँदै आएकी छन् ।

उनी हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज रहेकी छन् । विद्यार्थी आन्दोलनबाट उदाउँदै अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य बनेकी उनले अनेमसंघ तनहुँको दुई कार्यकालसम्म अध्यक्षको रुपमा काम गरेकी छन् ।

उनीसँग ९ वर्षसम्म नेकपा एमाले तनहुँको सचिवको रुपमा काम गरेको अनुभव समेत रहेको छ । न्यौपाने २०६२ ⁄ ६३ जनआन्दोलनको चर्चित पात्रसमेत रहेकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा रहेकी उनलाई केन्द्रीय सदस्य बनाई भुगोलको राजनीतिमा पठाउने विषयमा अध्यक्ष ओली सकरात्मक रहेको बुझिएको छ ।

तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा लागेपछि र एमालेमा लामो समयसम्म पृष्ठभुमी बनाएका नेताहरु प्रतापलाल श्रेष्ठ, शंकरनारायण श्रेष्ठ, विद्या ढकाल लगायत नेताहरु नेकपा एसमा लागेर कार्यकर्ताहरुलाई आफूतिर तानातान गरिरहेको अवस्थामा नेतृ न्यौपानेले ती कार्यकर्तालाई जोगाउने मात्र नभई पार्टीको पक्षमा दृढताका साथ उभिन नेतृत्वदायी भूमिका खेलेर उनी थप चर्चित भएकी थिइन् ।

उनले राष्ट्रिय सभामा सांसदको रुपमा रहेर पनि सशक्त आवाज उठाउँदै आएकी छन् । उनले आम जनताको आवाज बनेर राष्ट्रिय सभामा सम्बोधन गर्दै आएकी छन् ।

हाल तनहुँ क्षेत्र नम्बर १ मा एमालेका कार्यकर्ताको आशा र भरोसाको एकमात्र उनी रहेकी छन् । उनी पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएमा तनहुँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग पनि बैचारिक बहसले अडिग रहँदै केन्द्रबाट समेत भरोसा गर्नसक्ने सशक्त नेता पाउने आशामा कार्यकर्ताहरु रहेका छन् ।

एमालेले यस दशौं महाधिवेशनमा ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क हुनुहुन्छ ।

एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने पाँच प्रतिशतसम्म मनोनीत सदस्य हुनेछन् । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ ।

महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV