८ मंसिर २०७८, बुधबार

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताउनुभएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा आज यहाँ आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताउनुभयो । पछिल्लो समय सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि राज्य चनाखो हुनुपर्ने पनि उहाँले जोड दिनुभयो । “सहकारीलाई जिम्मेवार बनाउन सङ्घको भूमिका प्रभावकारी हुनुपर्छ”, उहाँले भन्नुभयो, “सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनको आवश्यक छ ।”

कार्यक्रममा जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताउनुभयो । सहकारी क्षेत्रले निक्षेप पनि बढी लिएर कर्जा पनि बढी लिएको भन्दै मन्त्री भुसालले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन आवश्यक भएको उहाँको सुझाव थियो । कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद् भएको मन्त्री भुसालको भनाइ थियो ।

सोही क्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएकोमा जोड दिनुभयो ।

हाल ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उहाँले जानकारी दिनुभयो । ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिने गरी सहकारीले लगानी गर्नुपर्ने अध्यक्ष कँडेलकोे भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV