८ मंसिर २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको कारण सर्वोच्च अदालतमा विवाद भइरहेको आरोप लगाएका छन् । बुधबार (आज) काठमाडौंमा आयोजित एमाले निकट युवा संघको साइबर सर्कल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको कारण सर्वोच्च अदालतमा विवाद भइरहेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले न्यायिक क्षेत्रमा भइरहेको विवादलाई ‘क्यान्सर’को संज्ञा दिदै त्यसलाई जरैदेखि फ्याँक्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ । न्यायाधीश, बारले भनिरहेको छ । वरिष्ठ अधिवक्ता, कानून व्यवसायी, जनता छक्क परिरहेको छ ।’

सामान्य रूपमा सर्वोच्च अदालतको विवाद साम्य नहुने बताउँदै उनले भने, ‘क्यान्सरको उपचार धामी बोलाएर दुबोको मुन्टा, कुखुराको अण्डा ल्याएर यसो यसो पारेर दुनामा लगेर मन्साउने ? त्यो विचरा अण्डा मन्साएर, अण्डा पर लगेर राखेर क्यान्सर निको हुन्छ ? अप्रेसनको आवश्यकता छ । किमोको आवश्कयता छ । बिमार त्यो तहको छ ।’

त्यस्तै पाँच दलको कारण सर्वोच्चमा विवाद जारी रहेको बताउँदै उनले भने, ‘मेरो नेतृत्वको सरकारतिर फ्याँकिएको ब्रह्मास्त्र फर्किएर भएको हो । अहिले देशमा आन्दोलन छैन । सर्वोच्च अदालतको आँगनमा मात्रै आन्दोलन छ । जनता छक्क परिरहेको छ । यो पाँच दलको कानूनी क्षेत्रको प्रकटीकरण मात्रै हो ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV