८ मंसिर २०७८, बुधबार

काठमाडौं । आइतबार काठमाडौंबाट रुकुम (सल्ले) का लागि उडेको नेपाल वायुसेवा निगम (नेवानी) को जहाज नेपालगन्जमा किन अवतरण गरियो भन्ने बारेमा निगमले स्पष्टीकरण दिएको छ ।

पाइलटको प्रत्येक दिन १० घन्टा ड्युटी हुने र ड्युटी आवरभित्रर काठमाडौंबाट रुकुम (सल्ले) पुगेर नेपालगन्ज आइपुग्न असमर्थ भएपछि त्यसदिन नेपालगन्जमै जहाज अवतरण गर्नु उपयुक्त ठानिएको निगमले मंगलबार स्पष्टीकरण दिएको छ ।

निगमले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै भनेको छ, ‘काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्काेतर्फ बिहान ५ः१५ देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे नै भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।’

निगमले रुकुम जाने यात्रुहरुलाई आइतबार काठमाडौंमै होल्ड गरेर राख्नुभन्दा नेपालगन्जसम्म पुर्याएर भोलिपल्ट बिहानै रुकुम (सल्ले) पुर्याउनु उपयुक्त ठानेको पनि स्पष्ट पारेको छ ।

‘रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिराख्नुभन्दा नेपालगन्जसम्म पुर्याएर रकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटेलमा राखि भोलिपल्ट बिहानै रुकुम पु
र्याउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो,’ निगमले प्रष्टीकरण दिएको छ ।

साथै, त्यस दिन मौसम प्रतिकूलताका कारण काठमाडौं– रुकुम (सल्ले) को उडान रद्ध गरिएको र पछि क्रमश मौसममा सुधार भएपछि दिउँसो सवा दुई बजे चालक, परिचारक र यात्रुहरुलाई विमानस्थलमा बोलाइएको पनि विज्ञप्तिमार्फत् निगमले भनेको छ ।

तर, उडान भर्दा साँझको ५ बजिसकेको र चालकको ड्युटी आवर सवा ५ बजे सकिने भन्दै उक्त समयभित्र रुकुम पुगेर जहाज नेपालगन्ज आइपुग्न असमर्थ हुने बताउँदै निमगले पाइलट पेम्बा शेर्पाको बचाउ पनि गरेको छ ।

यात्रुहरुले भने पाइलट शेर्पाको सनकका कारण आफूहरु त्यस दिन गन्तव्य नपुगी बिचलित बनेको भनेका थिए । र, मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले पाइलट शेर्पालाई स्पष्टीकरण सोध्न नेवानीलाई निर्देशन दिएका थिए ।

मन्त्रालयको स्पष्टीकरणको जवाफ नदिई निगमले आज विज्ञप्ति निकालेर चालक शेर्पाको बचाउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV