७ मंसिर २०७८, मंगलवार
  • बाल बिक्रम कार्की

रौतहट । बाल विवाहको अवस्था र हाम्रो दायित्वसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।

साथ–साथ सिकाई सञ्जाल रौतहटको आयोजनामा सम्पन्न सो कार्यक्रममा बाल विवाहका कारण, परिणाम र रोकथामका उपाहरुको बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको थियो ।

गौतम होटलको सभाहलमा भ‌एको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पानसमा बती बालेर गरेका थिए।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि प्रधानले बाल विवाह एकदमै ठुलो सामाजिक समस्या भ‌एकाले यसलाई जरैदेखि निर्मूल बनाउन सबैजना हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले गरीबी, अशिक्षा, अज्ञानता, लैगिङ्क विभेद , युवा पुस्तामा बढ्दो सामाजिक संजालको दुरुपयोग लगायतका विविध कारणले बाल विवाह बढिरहेको जनाउँदै यसलाई हटाउन परिणाममुखी ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बिशिष्ट अतिथि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले प्रहरीमा बाल विवाहका उजुरी न्यून मात्रामा आउने गरेको जनाउँदै आफ्नो गाउँ ठाउँमा बाल विवाह भ‌इरहेको थाहा हुनै बित्तिकै प्रहरीलाई खबर गर्न अनुरोध गरे । उनले प्रहरीमा उजुरी आए यसलाई रोक्न सहज हुने भ‌एपनि थाहा पाएर पनि उजुरीनै नगर्ने प्रवृत्तिले समस्या भ‌एको गुनासो गरे ।

को–क्यापका प्रदेश २ सचिव महिला अधिकारकर्मी देवकी नेपालले बाल विवाहले आर्थिक, सामाजिक, पारिवारिक, नैतिक लगायतका समस्याहरु निम्त्याउने उल्लेख गर्दै यसलाई जुनसुकै अवस्थामा पनि हटाउन सरोकारवाला सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिइन् ।

उनले बाल विवाह कानुनी तथा सामाजिक अपराध भएको भन्दै यसलाई हटाउन पहिलो भूमिका अभिभावकको हुने भ‌एकाले अभिभावक र बाल बालिकालाई केन्द्रमा राखेर सचेतना मूलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाइन् ।

साथ–साथ सिकाई संजाल रौतहटका अध्यक्ष कमल ढकाल घिमिरेको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन इन्सेक रौतहटका संयोजक कोपिला तिमल्सिनाले गरेकी थिइन् । सामाजिक अगुवा, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा को क्याप नेपालका प्रदेश २ फोकल पर्सन अम्बिका पौडेलले बाल विवाहका कानुनी तथा सामाजिक प्रावधान र असरहरुको बारेमा सहजीकरण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV