७ मंसिर २०७८, मंगलवार

काठमाडौं । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोधमा उत्रिरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इजलास बहिष्कार गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखिएको बताएका छन् ।

मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै फलानोका राजीनामा माग गर्दैमा न्यायालय शुद्धिकरण नहुने तर्क राख्दै इजलास बहिष्कार गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था आफूले देखेको उनले बताए ।

उनले भने, ‘अमूल व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । मत सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।’

अहिले सर्वोच्च अदालतमा देखिएको विवाद सन्दर्भमा प्रधानन्यायाधीश जबराले मात्रै राजीनामा गरेर न्यायालय शुद्ध नहुने ओलीको ठहर रहेको छ । उनका अनुसार प्रधानन्यायाधीशलगायत न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने अवस्था देखिएका छ ।

‘उहाँहरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,’ उनले भने, ‘फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन ।’

यसैगरी अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर सर्वाेच्चले शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकोप्रति रोष प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV