६ मंसिर २०७८, सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ । चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ ।

अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ । दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने काम भइरहेको छ ।

महाधिवेशन हुने स्थलमा कम्तिमा पनि दुईवटा ड्रोनले निगरानी गर्नेछ भने मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिबाट निर्माण गरिँदैछ ।

सोमबार प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विनोद श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र हेर्न सक्नेछन् । साथै, प्रत्यक्ष लाइभमार्फत पनि महाधिवेशन हेर्न मिल्ने उनले बताए ।
उनले उद्घाटन सत्रका लागि लाइभ भिडियो क्यामेरा, कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने बताए ।

संयोजक श्रेष्ठका अनुसार मंसिर ९ गते उद्घाटन सत्रको मञ्च तयार हुने र हस्तान्तरण गरिने बताए । उनका अनुसार हाल मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको छ ।

बन्द सत्रतर्फ सौराहामा हुने महाधिवेशनका लागि मञ्च आइतबारदेखि नै सुरु भइसकेको संयोजक श्रेष्ठले बताए । उनका अनुसार बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ ।

मंसिर १० गते उद्घाटन हुने सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकालिनेछ । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकालिने प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।

उनका अनुसार जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर प्रचारप्रसारको काम अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV