६ मंसिर २०७८, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले देश र पार्टी भित्र केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।

सोमबार रौतहटको विजयपुरमा आयोजित फतुवा विजयपुर प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले देशलाई अग्रगमनतर्फ डोर्याउन र समृद्ध नेपाल निर्माण गर्न ओलीकै नेतृत्वमा देश र पार्टी अगाडि बढ्ने जीकिर गरे ।

देशमा दलाल प्रतिक्रियावादीहरु एकताबद्ध भएर मुलुकलाई बन्धक बनाउने दुस्साहस गरिरहेको बताउँदै साहले केपी ओलीको नेतृत्वमा देशलाई अगाडि बढाउन आह्वान गरे । नेता साहले केही दक्षिणपन्थी अवसरवादीहरुको बहिर्गमन पछि एमालेमा शुद्धिकरण भएको र सच्चा कम्युनिष्टहरु ओलीकै साथमा रहेको भन्दै ओलीले नेपालमा कम्युनिष्टप्रति आकर्षण बढाएको जीकिर गरे ।

‘अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ, विश्वका कम्युनिष्ट पार्टीहरु टुटफुट र विघटनको अवस्थामा छ तर नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले मतदानमार्फत कम्युनिष्ट पार्टीमाथि अपार उत्साह बढेको छ। ‘ उनले भने, ‘ यसले विश्वभरको कम्युनिष्टहरुलाई पाठ सिक्न बाध्य बनाएको छ । ‘

 

केपी ओली नेतृत्वको सरकारले लामो समय देखि विद्यमान गरिबी र पछौटेपनबाट ग्रसित नेपाललाई विकसित बनाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षासहित मुलुक तीव्र विकासको दिशामा बढाएको उल्लेख गर्दै उनले देश र पार्टी दुबैमा केपी ओलीको विकल्प नभएको दावी गरे । ‘अब नेकपा एमाले र देश दुबैको नेतृत्व केपी ओलीको नेतृत्वमा अगाडि बढ्छ, ‘ उनले दावी गर्दै भने ‘उहाँकै नेतृत्वमा देश र जनता समृद्ध बन्छन् अनि पार्टी नम्बर एक ।’

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए । ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बसालिसकेकोले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने नेता साहको भनाई छ ।

अर्को एक प्रसङ्गमा उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बारम्बार मधेश र मधेशी जनतालाई विकास र अधिकारको नाममा ठगेको उल्लेख गर्दै प्रचण्डकै कारण एक मधेश एक प्रदेश नबनेको जिकिर गरे । उनले केपी ओली नेतृत्वको सरकारले तराई मधेशमा विकासको लहर ल्याएको दावी गर्दै विकास नचाहने तत्वहरुले नेकपा एमाले र ओलीलाई मधेश विरोधी भनेर दुष्प्रचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV