६ मंसिर २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सोमबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

डा. भट्टराईले नेपाल बार एसोसिएसनका पदाधिकारीबाट ज्ञापनपत्र ग्रहण गरेपश्चात गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताउँदै गठबन्धनमा यस विषयमा कुरा राख्ने बताए ।

‘तपाईंहरूले उठाएको आवाजमा सम्मान छ । सकेसम्म राज्यका अंगले आफ्नो समस्या आफैँ हल गर्नुपर्छ भन्ने हो । हाम्रो धारणा संरचनागत सुधार हुनुपर्छ भन्ने हो । यो कुरा गठनबन्धनमा राख्छौँ,’ उनले भने, ‘यस विषयमा गठबन्धनको साझा धारणा बनाउनुपर्छ । राजनीतिक दलको भूमिका हुनुपर्ने कुरामा पहल गर्छौँ।’

सोमबार बारले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा दलका प्रतिनिधिलाई प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै पदबाट बहिर्गमन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV