६ मंसिर २०७८, सोमबार

एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाएको छ ।

तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको बीबीसीले जनाएको छ । यद्यपि निर्देशिकामा कस्तो प्रकारले ढाक्ने भन्ने कुरा स्पष्ट छैन ।

पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन् । अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन् ।

ती नियममा इस्लाम वा शरिया कानुन एवम् अफगान मूल्यमान्यताविपरीतका चलचित्रहरूदेखि पुरुषका गुप्ताङ्ग देखाउन नपाइनेसम्मका छन् ।

धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ । त्यस्तै विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने भएकाे छ ।

अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिशृङ्खला प्रसारण हुँदै आएका थिए ।

अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएको तालिबानले बिस्तारै कडा नियमहरू लागु गर्दै गएको छ ।

अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो ।

सन् १९९० को दशकमा तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र काम गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV