६ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति मुलुकमा आकर्षण बढेको दावी गर्नुभएको छ ।

सोमबार पूर्वी चितवनको टाँडीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मुलुकमा माओवादी केन्द्रप्रति जनलहरनै छाएको जिकीर गर्नुभयो ।

‘माओवादी प्रति देशमा जनलहर आउदैछ । हरेक प्रदेश र स्थानीय तहमा अन्य पार्टीका मानिसहरु आउनेक्रम बढेकोछ । सबैभन्दा बढी प्रदेशमा २ मा पाएँ । मुलुकका धेरै ठाउँमा एक मात्रै होइन हजारौँ बुद्धिजिवी प्रवेश गरे अर्को पार्टीबाट,’  उहाँले भन्नुभयो, ‘सर्लाहीमा ७ सय भन्दा बढी शिक्षकहरु अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका छन् । यो सानो कुरा होइन । यसअर्थमा अब माओवादीनै हो, देशमा जनलहर छाउने पार्टी।’

माओवादी केन्द्रले जनयुद्धमा साथ दिएका किसान र मजदुर जस्ता पक्षका सम्बोधन नगरेर केही गल्ति गरेको भने स्वीकार गर्नुभएको छ । तर अब पार्टीले त्यो गल्तीबाट सिकेर अघि बढ्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिगमन बिरुद्ध आफूहरुले लडेर एकबद्ध हुने प्रयत्न गरेको पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रतिगमनबिरुद्ध उठाएक मुद्धा एकताको मुद्धा थियो । विभाजनको होइन।’

अबका दिनमा माओवादी गर्जिनै पर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

‘हामी गर्जिनै पर्छ । यो परिवर्तन हामीले ल्याएको हो । कुनै विदेशी दलालीले ल्याएको होइन । हरेक टोल टोलमा गएर हामीले ल्याएको परिवर्तनको चर्चा गर्नु कन्जुस्याइ गर्नु भएन,’ कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले गाउँ-गाउँमा टोल-टोलमा गएर पार्टी संगठन बिस्तार गर्नुपर्छ।’

उहाँले प्रधानमन्त्री राष्ट्रपति जो भएपनि देश माओवादी केन्द्रकै वरिवरी घुमिरहेको दावी गर्नुभयो । माओवादी केन्द्र बलियो भए अधिकार बच्ने मात्रै नभइ अझै धेरै  अधिकार पाइने जिकीर गर्नुभयो। माओवादी केन्द्र कमजोर भए देशनै संकटमा पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV