५ मंसिर २०७८, आईतवार

एजेन्सी । पातझैँ पैसा झर्न थाले के हुन्छ ? जो सुकैले टिप्न थाल्छ । शुक्रबार बिहान अमेरिकाको एक राजमार्गमा यसैगरी एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भीड लागेको बीबीसीले जनाएको छ ।

गाडीबाट सडकभर पैसा झर्न थालेपछि मानिसहरु हतारहतार नोट टिपिरहेको सामाजिक सञ्जालमा प्रेषित भिडियोमा देखिएको छ । यस घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको बताइएको छ ।

प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।

त्यहाँका प्रहरीका अनुसार पैसा टिप्ने केहीलाई गिरफ्तार गरिएको छ भने पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ।

गाडीको ढोका बीच सडकमा खुल्दा सडकभर पैसा झरेर यत्रतत्र छरिएका थिए । त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको छ भने पैसा फिर्ता दिन आग्रहसमेत गरिएको छ।

शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV