५ मंसिर २०७८, आईतवार

काठमाडाैँ । नेपाल परिवार दलकाे तेस्रो राष्ट्रिय महाधिवेशनबाट पार्टीकाे अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।  शनिबार सुरु महाधिवेशनले अध्यक्षमा ढकाललाई निरन्तरता दिँदै आईतबार सकिएको हाे ।

‘सबैखाले विभेदको अन्त्य गरौँ : सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतका विषयलाई  पनि पारित गरेको छ ।

अधिवेशसनबाट पार्टीकाे वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ र महामन्त्रीमा सन्तोष कुमार पौडेल तथा प्रकाशबाबु थापा चयन भएका छन् । साथै ५ जना सह–महामन्त्रीमा क्रमशः मिलन कुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेती,अब्दुल कैयुम शाह, अशोक कुमार चौधरी र कोषाध्यक्षमा गोविन्द नाथ मिश्र तथा सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्वाचित भएका छन् ।

काठमाडौँमा भएको महाधिवेशन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष समेत रहेका ओलीले परिवार दल विकासप्रेमी र शान्तिवादी पार्टी भएकाले एमालेले विगतमा पनि सहकार्य गरेको स्मरण गरे । साथै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मूल्य र मान्यताको राजनीति गर्ने गरेको भन्दै परिवार दल शान्तिको सन्देशको प्रवाह गर्ने पार्टी समेत रहेकाे बताए ।

परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले नेपाली समाजमा ठुलठुला परिवर्तन भए पनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको बताए । उनले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिवर्तनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै आफ्नो दलले संस्कार नै परिवर्तन गर्न अगाडि बढेको उनकाे भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV