५ मंसिर २०७८, आईतवार

एजेन्सी । युरोपेली देशहरूमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि विभिन्न चिन्ताहरु व्यक्त गरिएका छन् ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै संक्रमण रोक्नका लागि तत्काल प्रभावकारी कदम नचालिएमा कोरोना भाइरसका कारण आउँदो मार्चसम्ममा थप पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी समेत डब्लुएचओले दिएको छ ।

हाल जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोना सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ । यससँगै त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपाय र लकडाउन अपनाउनुका साथै खोप अभियानलाई तीव्रता दिन थालिएको छ ।

कोरोना बढेपछि अस्ट्रियाले सोमबारदेखि देशैभरि पूर्ण लकडाउनको घोषणा गरेको छ । यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ । त्यहाँ आगामी वर्ष सन् २०२२ फेब्रुअरी १ देखि सबै नागरिकले कोरोना विरुद्धको खोपलाई अनिवार्य लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ ।

जाडो याम बढ्न, खोप अभियान तीव्र नहुनु तथा तीव्र गतिमा संक्रमण फैलिने डेल्टा भेरियन्ट देखिनुले अहिले युरोपमा संक्रमण बढ्दै गएको डब्लुएचओको भनाइ छ । यसलाई नियन्त्रण गर्न मास्क अनिवार्य गर्ने, खोप खभियान तीव्र बनाउने तथा अन्य स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने लगायत सुझाव पनि डब्लुएचओले दिएको छ ।

LIVE TV