४ मंसिर २०७८, शनिबार
  • बालबिक्रम कार्की

रौतहट । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेस विरोधीका संज्ञा दिएका छन् ।

शनिबार रौतहटको कटहरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अध्यक्ष ओलीकै कारण मधेसीहरु अधिकारबाट बञ्चित भएको आरोप लगाए ।

उनले अध्यक्ष ओली मधेशको खलनायक भएको आरोप लगाउँदै ओलीले गर्दा नै संविधानमा मधेसको एजेन्डा स्थापित गर्न नसकेको बताए। अहिले देशी विदेशी प्रतिक्रियावादी तत्व माओवादी विरुद्ध लागेको उल्लेख गर्दै माओवादी सबै घेराबन्दीका वावजुद जनताको माझमा स्थापीत हुने उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले रौतहट जिल्ला सदरमुकाम गौरमा गौर हत्याकाण्डमा माओवादी कार्यकर्ताले ज्यान गुमाएको स्मरण गर्दै मधेशमा माओवादीलाई रोक्न २९ जनाको हत्या गरिएको दाबी गरे ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि दाहाल रौतहट आएका थिए ।

रौतहटमा अध्यक्ष प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV