४ मंसिर २०७८, शनिबार
  • रमेश अधिकारी

सर्लाही । यहाँको हरिवन नगरपालिका ११ मा रहेको औद्योगिक ग्रामको शिलान्यास गरिएको छ । हरिवन नगरपालिकाले खेर गएको नदीको बगरमा औधोगिक ग्राम स्थापना गर्ने भन्दै आज(शनिबार) नगर प्रमुख गणेश प्रसाईले एक कार्यक्रमका बीच औद्योगिक ग्रामको शिलान्यास गर्नुभएको हो ।

चापिनि नदीले बगर बनाएको ठाँउमा जमिन खेर जाने र तत्काल नियन्त्रणमा लिन नसके झनै कटान गर्ने भएकोले हरिवन नगरपालिकाले खेर गएको जमिनमा औद्याेगिक ग्राम बनाउने भन्दै केही समयपहिला नदी उकासलाई व्यावस्थापन गर्न तटबन्ध गरेको थियो । स्थानीय उत्पादनमुखी उद्योगहरुका साथै व्यापार-व्यावसाय गर्न एउटै छानामुनि औद्याेगिक ग्राम बनाउने र स्थानीयलाई रोजगारी सिर्जना गर्नुको साथै आन्तरिक आयस्रोतलाई बढावा दिन ग्राम निर्माण गर्न लागिएको नगर प्रमुख प्रसाईले बताउनु भयो । उहाँले हरिवन नगरपालिका–११ चापिनीमा खोलाले कटान गरेको जमिनमा औद्याेगिक ग्राम बनाउन नगरपालिकाले सो जमिन भाडामा दिने र स्थानीय उत्पादनबाहेकका कुनै पनि व्यापार व्यावसाय गर्न नपाउने गरी २९ वर्षका लागि व्यापारी व्यवसायीहरुलाई सो जमिन भाडामा लगाईने बताउनु भयो ।

जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या देशभरि नै भइरहेको अवस्थामा हरिवनले त्यस्तो खेर जाने जमिनको सदुपयोग गर्न लागेको नगर उप प्रमुख रेणुका पौडेलले बताउनु भयो । संघीय सरकारले लिएको नीति एक स्थानीय तह एक औद्याेगिक ग्राम अन्तरगत हरिवनमा औद्योगिक ग्राम बन्न लागेको हो । जसका लागि संघीय सरकारले गत आर्थिक वर्षमा पठाएको रु १ करोडबाट जग्गा अतिक्रमण तथा पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्दकीले बताउनुभयो । उहाँका अनुसार अब सो जमिनमा स्थानिय उत्पादनमुखी, स्थानियलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न नगरपालिकाले सो जमिनलाई भाडामा लगाउने छ ।

करिब ८ बिगाह क्षेत्रफलमा स्थापना हुन लागेको औद्याेगिक ग्राममा हरिवन क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने र हरिवन नगरपालिकाको आर्थिक विकासमा मद्दत पुग्ने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले बताउनुभयो ।

यसरी एकै ठाँउ, एउटै छानामुनि विभिन्न व्यवसाय, उद्योग सञ्चालन हुँदा स्थानियलाई आफ्नो उत्पादन कहाँ बिक्री-वितरण गर्ने भन्ने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता पनि हट्ने नगरपालिकाले विश्वास लिएको छ ।

नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभै कलकारखाना स्थापनाले बेरोजगारीको समस्या समेत हल हुने नगरप्रमुख प्रसाइले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV